काठमाडौं  प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार हालसम्म ५१३ भन्दा बढी व्यक्तिमा संक्रमणको आशंका गरिएको छ । कङ्गो सरकारका प्रवक्ताले इबोलाको संक्रमण अहिले तीव्र गतिमा नयाँ र फराकिलो क्षेत्रहरूमा फैलिरहेको पुष्टि गरेका छन् । विश्व स्वास्थ्य संगठनले ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको इबोलाको यो प्रजातिलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो प्रकोप कङ्गोको छिमेकी युगान्डातर्फ पनि सरेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार युगान्डामा दुई जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ कङ्गोकै इतुरी प्रान्तको न्याकुन्डे, उत्तर किभुको बुटेम्बो र गोमा जस्ता नयाँ सहरहरूमा संक्रमण देखिएपछि सर्वसाधारणमा चिन्ता र त्रास बढेको छ ।

यद्यपि, कङ्गो सरकारले आफ्ना विशेष टोलीहरू संक्रमितहरूको पहिचान र खोजी गर्न दिनरात खटिएकाले आतङ्कित नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । यसैबीच, कङ्गोमा स्वास्थ्य सेवामा खटिएका एक अमेरिकी चिकित्सक पनि इबोलाबाट संक्रमित भएका छन्। ‘सर्ज’ नामक मेडिकल मिसनरी समूहका अनुसार कङ्गोमा कार्यरत अमेरिकी डाक्टर पिटर स्टाफर्डमा संक्रमण पुष्टि भएको हो । उनलाई थप उपचारका लागि जर्मनी लैजाने तयारी भइरहेको छ ।