एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको समग्र गोलाबारुद भण्डार पर्याप्त भएपनि केही विशिष्ट प्रकारका हतियारहरूको आपूर्तिमा केही दबाब रहेको बताउनुभएको छ ।
बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले केही प्रकारका हातहतियार र तिनको आपूर्ति लगभग असीमित रहेको बताउनु भएको छ । यद्यपि, केही अन्य प्रकारका हतियारको उपलब्धता भने थोरै कम रहेको स्विकार गर्नु भएको छ । जसलाई दैनिक रूपमा आपूर्ति गरिरहेका बताइएको छ ।
’इरानसँगको तनावका बीच अमेरिकी सेनाले आफ्नो प्रमुख क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका करिव ८० प्रतिशत इन्टरसेप्टर (प्रतिरोधी क्षेप्यास्त्र) प्रयोग गरिसकेको र सैन्य कमान्डरहरूले गोलाबारुदको भण्डार खतरनाक रूपमा न्युन भएको चेतावनी दिएको समाचार सार्वजनिक भएको दुई दिनपछि ट्रम्पका टिप्पणी थियो ।
यसैबीच, द वासिङ्टन पोस्टले गत साता क्याम्प डेभिडमा आयोजित शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्प र रक्षामन्त्री पिट हेगसेथबीच अमेरिकी क्षेप्यास्त्र आपूर्तिको विषयलाई लिएर विवाद भएको उल्लेख गरेको थियो । स्रोतलाई उद्धृत गर्दै प्रकाशित उक्त समाचारमा क्षेप्यास्त्रको मौज्दात घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गर्नुभएको छ । उहाँले ती दाबीहरूलाई झुटो र पूर्णतया निराधार हल्लाको संज्ञा दिनुभएको छ ।