काठमाडौं  शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
मन्त्रालयमा बिहीबार नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ । टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गर्नुभयो ।

उहाँले राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्नुभएको छ ।

मन्त्री पोखरेलले आफ्नो मन्तव्यको अन्त्यमा टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गर्नुभयो ।
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो ।