इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ ।
उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ ।पहिलो आक्रमणपछि प्रहरीले मध्य इजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । सञ्चारमाध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । तेल अभिव क्षेत्रमा चार जना सामान्य घाइते भएको चिकित्सकलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । इजरायली सञ्चारमाध्यमले आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै यसको कारण क्लस्टर हतियारको प्रयोग हुन सक्ने बताएका छन् । यस्ता हतियार हावामै विस्फोट भई साना बमहरू छर्छन् । इरान र इजरायलले यसअघि पनि एकअर्कामाथि क्लस्टर बम प्रयोगको आरोप लगाउँदै आएका छन् ।पहिलो आक्रमणको करिब छ घण्टापछि इजरायली सेनाले पुनः तीन चरणमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको जनाएको छ । यससँगै उत्तरी र मध्य इजरायलका अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो ।सेनाको होम फ्रन्ट कमान्डले पछि देशभरका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिइएको जनाएको छ । पछिल्ला आक्रमणबाट कुनै हताहत वा ठूलो क्षतिको विवरण तत्काल प्राप्त भएको छैन ।यसअघि बुधबार, यहुदी समुदायले निस्तार चाडको तयारी गरिरहेका बेला इरानी क्षेप्यास्त्र आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जनाघाइते भएका थिए ।