स्ट्रेट अफ हर्मुजमा अमेरिकी नाकाबन्दीबीच इरानी राष्ट्रपतिले अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

संसारका सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एकमा अमेरिकी नाकाबन्दीबीच इरानका राष्ट्रपति मसूद पेजशकियानले अमेरिकालाई चेतावनी दिएका हुन् । पश्चिम एसियामा जारी तनावबीच उनले आफूहरूको देश युद्ध होइन, संवाद चाहिरहेको बताएका छन् । उनले इरान कुनै पनि टकरावको पक्षमा नरहेको बताउँदै विवादहरूको समाधान संवादबाट नै सम्भव छ भन्ने विश्वास गर्ने पनि बताए । इर्ना समाचार एजेन्सीका अनुसार, पेजशकियानले अमेरिकालाई इरानमाथि आफ्ना शर्तहरू थोप्ने वा आत्मसमर्पणका लागि बाध्य पार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले यस्तो कुनै पनि प्रयास सफल नहुने पनि बताएका छन् इरानी राष्ट्रपतिले हालका हमलाहरूमाथि पनि प्रश्न उठाएका छन्।

उनले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तअन्तर्गत नागरिकहरू, बच्चाहरू, बुद्धिजीवीहरू, विद्यालय र अस्पतालहरूलाई निशाना बनाउनुको कुनै औचित्य नरहेको पनि बताए ।उनले भने, ‘इरान शान्ति र संवादको पक्षमा छ, तर आफ्नो सार्वभौमिकता र सुरक्षासँग कुनै किसिमको सम्झौता गर्दैन।’उता इरानी विज्ञान मन्त्री हुसेन सिमाई सर्राफले उनीहरूको देश अराजक शत्रुसँग जुधिरहेको बताएका छन् । उनले भने, ‘हामी अहिले यस्तो शत्रुसँग सामना गरिरहेका छौँ कि जसले न कानुन मान्छ न नैतिकता पालना गर्छ।’तेहरानस्थित एरोस्पेस रिसर्च इन्स्टिच्युटको भ्रमणका क्रममा उनले यो भनाइ सार्वजनिक गरेका हुन् । यो संस्थान २८ फेब्रुअरीको हमलामा प्रभावित भएको थियो।