काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन निराशाजनक रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीमा व्यापक फेरबदल गरेको छ । 

आगामी एसीसी प्रिमियर कपका लागि क्यानले सिनियर टोलीका नियमित र अनुभवी खेलाडीलाई हटाउँदै युवा खेलाडीलाई अवसर दिएको छ । क्यानको पछिल्लो निर्णय अनुसार टोलीका मुख्य पेसर सोमपाल कामी, अलराउन्डर आरिफ शेख, भीम सार्की, विनोद भण्डारी र नन्दन यादवलाई सिनियर तथा नेपाल ‘ए’ दुवै टोलीबाट बाहिर राखिएको छ । यस्तै, टोलीका नियमित ओपनर कुशल भुर्तेललाई भने सिनियर टोलीबाट घटाएर नेपाल ‘ए’ टोलीमा पठाइएको छ । नेदरल्यान्ड्समा अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपछि क्यानले ब्याटिङ र बलिङ दुवै विभागमा युवा अनुहारलाई प्राथमिकता दिएको छ ।

ब्याटिङतर्फ युवा ब्याटर देव खनाल, सन्दीप जोरा र देब्रेहाते स्पिन अलराउन्डर बसिर अहमदले सिनियर टोलीमा पुनरागमन वा स्थान बनाउन सफल भएका छन । यस्तै, घरेलु क्रिकेटमा छाप छाड्दै आएका मिस्ट्री स्पिनर शेर मल्ललाई पहिलो पटक एकदिवसीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ । लगातारको फितलो प्रदर्शनपछि क्यानले चालेको यो कदमलाई टोलीभित्र नयाँ सोच, स्वस्थ प्रतिस्पर्धा र भविष्यको दीर्घकालीन तयारीतर्फको कडा संकेतका रूपमा हेरिएको छ । टिमबाट कुशल भुर्तेल, सोमपाल कामी, भीम सार्की, नन्दन यादव, आरिफ शेख र विनोद भण्डारी आउट भएका छन् ।

टिमबाट सिनियर खेलाडी आउट हुँदा युवा खेलाडी देव खनाल, शेर मल्ल, सन्दीप जोरा र बसिर अहमेदले स्थान पाएका छन् ।