पश्चिमी टर्कीमा आइतबार भएको पर्यटक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले दुर्घटनामा परी अन्य ३३ जना घाइते भएको जनाएका हुन् । ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै थियो । यात्रा क्रममा डेनिज्ली प्रान्तस्थित डेनिज्ली–आयदिन राजमार्गमा बस अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा ठोक्किएको दुर्घटना भएको हो। दुर्घटनापछि बसमा आगलागी समेत भएको जनाइएको छ । मृतकमध्ये बस चालक र ९ महिनाको एक शिशु पनि रहेका छन् ।

दुर्घटनामा घाइते भएका ३३ जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो । केही घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ ।

दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान शुरु गरेको अधिकारीहरूले बताएका हुन् । टर्कीमा पछिल्ला वर्षहरूमा सडक सुरक्षा सुधारका प्रयास भए पनि तीव्र गति, चालकको थकान तथा प्राविधिक समस्याका कारण यस्ता दुर्घटनाहरू समय–समयमा हुने गरेका छन् । सोही घटनाले पुनः सडक सुरक्षाप्रति ध्यान दिनुपर्ने आवश्यकता रहेको जनाइएको छ ।