काठमाडौं पाकिस्तानको उत्तर–पश्चिममा प्रहरी चौकीमा आक्रमण हुदा १४ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्

बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन् । बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १४ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् ।

अधिकारीहरूले आक्रमणकारीहरूले भारी हतियारका साथै साना ड्रोन पनि प्रयोग गरेको बताएका छन् ।उनीहरूका अनुसार आक्रमणपछि फर्कने क्रममा आक्रमणकारीहरूले प्रहरीका हतियार र केही कर्मचारीलाई समेत लिएर गएको प्रारम्भिक जानकारी छ । बन्नु पछिल्ला वर्षहरूमा बढ्दो सशस्त्र गतिविधिबाट प्रभावित क्षेत्रका रूपमा रहँदै आएको छ ।

पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा बढ्दो तनावका बीच यो आक्रमण भएको हो ।इस्लामाबादले अफगान भूमिलाई केही समूहका लागि सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै आएको छ भने काबुलले सो आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला महिनाहरूमा दुवै देशबीच सम्बन्ध थप तनावपूर्ण बन्दै गएको र सीमावर्ती क्षेत्रमा हिंसात्मक झडपहरू समेत भएको उल्लेख गरिएको छ ।