एजेन्सी ।
पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा सोमवार परेको भारी वर्षापछिको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
बाढीका कारण अन्य ८० जना घाइते भएका छन् भने १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मादले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नुरिस्तानमा बाढीले ठूलो मानवीय क्षति पु¥याएको पुष्टि गर्नुभएको छ ।
उहाँका अनुसार प्रान्तीय विपद् व्यवस्थापन विभागको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ र खोजी तथा उद्धार कार्य सुरु गरिएको छ । उद्धार टोलीले मृतकको शव निकाल्ने, घाइतेहरूको उपचारका लागि पहल गर्ने र बेपत्ताहरूको खोजीलाई तिब्रता दिएको छ । हम्मादले क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको र पूर्ण अनुसन्धान तथा मूल्याङ्कन सकिएपछि हताहती र भौतिक क्षतिको अन्तिम तथ्याङ्क सार्वजनिक गरिने बताउनु भयो । यसैबीच, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले जारी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र तीव्रता दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ । स्थानीय अधिकारीहरूका अनुसार नुरिस्तानको प्रान्तीय राजधानी पारुन बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले त्यहाँका थुप्रै घर, सार्वजनिक संरचना र पूर्वाधारहरूमा गम्भीर क्षति पु¥याएको छ ।