प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा बिहीबार भएको खेलमा १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले । उनले ७५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै १०० रनको योगदान गरे । कुशल मल्लले २६ र भीम सार्कीले १६ रन जोडे ।सुदूरपश्चिमका लागि शेर मल्लले २ तथा मिलन बोहराले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३८.१ ओभरमा १५० रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ६० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । तथापि, जितका लागि पर्याप्त हुन सकेन । आर्मीका लागि बसिर अहमदरले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३५ रन खर्चेर आफ्नो फाइफर पूरा गरे । सो क्रममा उनले १ मेडेन ओभर पनि फाले । नरेन साउद र शाहब आलमले २–२ तथा आकाश चन्दले १ विकेट लिए ।