काठमाडौं 
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि शानदार जित निकालेको छ ।
वीरगन्जस्थित नारायणी क्रिमेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको छ । पुलिसको जितमा कप्तान आरिफ शेख र रसिख खानले अविजित अर्धशतकीय इनिङ्स खेलेका थिए ।

त्यस्तै, कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाएका छन् । त्यस्तै, ओपनर सुमन श्रेष्ठले ४३, अङ्कित सुवेदीले २६ र सिवास बजगाईंले १५ रन बनाएका थिए । साथै बलिङमा पुलिसका दिनेश खरेलले पाँच विकेट लिएका हुन्। ललित राजवंशी र सागर ढकालले दुई–दुई विकेट लिएका छन् । जितसँगै पाँच खेलबाट सात अंक बनाएको पुलिस शीर्षस्थानका उक्लिएको हो । समान खेलबाट एक अंक बनाएको कोशी अन्तिम स्थानमा रहेको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मधेश र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीको पनि समान सात÷सात अंक रहेको हो । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात÷सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो ।