काठमाडौं । फिफा विश्वकप फुटबलमा २०२६ अन्तर्गत समूह ‘जी’ को रोमान्चक खेलमा इजिप्टले न्यूजिल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा प्रवेश गरेको छ ।


क्यानाडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा सोमबार भएको खेलमा इजिप्टले पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो । खेलको शुरुवातदेखि नै न्यूजिल्याण्डले दबाब बनाएको थियो । पहिलो हाफमा फिन सम्र्यानको हेडर गोलमार्फत १–० को अग्रता लिएको हो। इजिप्ट भने पहिलो हाफमा लय समात्न संघर्षरत देखिएको थियो । तर दोस्रो हाफमा खेलको सम्पूर्ण तस्बिर बदलियो ।


 इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए । इजिप्टका लागि मोस्ताफा जिकोले बराबरी गोल गर्दै पुनरागमनको शुरुवात गरेका हुन्। त्यसपछि स्टार खेलाडी मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर ट्रेजेग्यूटले ८२औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गरेका हुन् । अन्तिममा न्यूजिल्याण्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलकिपरको उत्कृष्ट बचाउले उनीहरूलाई रोकेको थियो । यो जितसँगै इजिप्ट समूह जी को शीर्ष स्थानमा पुगेको छ । इजिप्टका लागि यो जित विशेष ऐतिहासिक मानिएको छ । इजिप्ट किनकि लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात परेको हो ।