काठमाडौं । फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्किएलाई २ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

क्यानाडाको भ्यान्कुभरमा आइतबार भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गरेको हो । अस्ट्रेलियाका नेस्टोरी इरान्कुन्डाले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए। कोनर मेटकाल्फले ७५औँ मिनेटमा गोल थपेका हुन्। जितसँगै समूह ‘डी’ को अस्ट्रेलियाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । त्यस्तै, विश्वकप फुटबलमा स्कटल्यान्डले पनि विजयी शुररुवात गरेको छ ।

त्यस्तै, बोस्टनमा आइतबारै भएको समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो । खेलमा उसका जोन म्याकगिननले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । यो जितसँगै उसले तीन अक जोडेको छ ।

त्यसेगरी आइतबारै बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो । मोरक्कोका स्माइल साइबरीले २१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

 तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औँ मिनेटमा गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । त्यस्तै, स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।