फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार भूकम्पमा परी अझै १७ बेपत्ता र ४ सय ८७ जना घाइते भएको जनाएको हो । एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका करिब एक लाख ५० हजार मानिसहरूलाई असर गरेको बताएको छ । भूकम्पले अस्पताल, विद्यालय र पुलहरू लगायतका २ सय ३८ वटा पूर्वाधार सुविधाहरू क्षतिग्रस्त भएको एनडीआरआरएमसीले जनाएको हो ।

मिन्डानाओको अधिकांश भाग र मध्य फिलिपिन्सका केही भागहरूमा कम्पन महसुस गरिएको र मुख्य झट्का पछि १ हजार ७ सय भन्दा बढी पराकम्पहरु रेकर्ड गरिएको जनाएएको छ भने प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य अझै जारी रहेको जनाइएको छ । भूकम्पले हताहत, विस्थापन, पूर्वाधारको क्षबितको सन्दर्भमा सबै भन्दा बढी प्रभावित क्षेत्रहरू सारङ्गनी र दक्षिण कोटाबातो प्रान्तहरू प्रभावित भएका हुन् । जसमाकरिब सात लाख जनसङ्ख्या रहेको एनडीआरआरएमसीले जनाएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीले सोमबार बिहान ३३ किलोमिटर गहिराइमा भूकम्प गएको जनाएको हो । जसको केन्द्र–बिन्दु मिन्दानाओ टापुको सारङ्गनी प्रान्तको मासिम सहरको तटबाट ३२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।