काठमाडौं । मलेशियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ परेका छन् ।
मलेशियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उनीहरूको साथबाट झन्डै ३५ हजार अमेरिकी डलर जफत गरिएको तथा ६ लाख ४० हजार डलरभन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागले जानकारी दिएको छ ।
मलेशियन कम्युनिकेशन एन्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा यही जुन ११ देखि शुरू भएको अपरेशन आउँदो जुलाई १९ सम्म चल्ने छ । अधिकारीहरूले १८५ वटा वेबसाइट, विभिन्न अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालका खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका छन् ।