गृहमन्त्री गुरुङलाई पाँचौ स्थानमा 

काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरियता हेरफेर गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा मन्त्रीहरुकोे वरियता मंगलबार हेरफेर गर्नुभएको हो । मन्त्रीहरुको कार्यविभाजन चैत १३ गते अनुसार नै यथावत रहे पनि वरियता हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । हेरफेर वरियता अनुसार प्रधानमन्त्री साहपछि अर्थमन्त्री डा स्वर्णिम वाग्ले रहनुभएको छ । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङलाई राखिएको छ । यसअघिको मर्यादाक्रममा गृहमन्त्री गुरुङलाई तेस्रो स्थानमा राखिएको थियो । वरियता क्रम अनुसार १५ सदस्यीय मन्त्रिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई अन्तिममा राखिएको छ ।