काठमाडौं ।

सार्वजानिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । 

दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो । विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आईतवार सार्वजानिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ । आईतवार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरुको विभागमा भीड लागेको छ ।

विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् । विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्रयाक सेवा पनि प्रभावकारी नभएको गुनासो गनुर्भयो । इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौं आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उहाँको गुनासो छ । उहाँले शुरुमा आवेदन दिन नै वेबसाईट नखुलेर मुस्किल परेको बताउनु भयो । आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिएपनि अहिलेसम्म कुनै सन्देश नआएको उहाँको गुनासो छ । राहदानी ढिलो हुँदा इपिएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उहाँले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासी बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ । विभागका निर्देशक दीपक बञ्जाडेकाअनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटी देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् । उहाँले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताउनु भयो । उहाँले इपिएस आवेदनका कारण दैनिक हजारौं अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताउनु भयो ।

प्राविधिक त्रुटी देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उहाँले जानकारी दिनुभयो । निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भईसकेको उहाँले बताउनु भयो । बञ्जाडेकाअनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो ।

त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उहाँको भनाई छ । निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवदेन दिन पनि सेवाग्राहीलाई आग्रह गर्नुभयो । उहाँले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताउनु भयो ।