विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ ।
फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पौने १ बजे हुनेछ । क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
र्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १÷१ पटक उपाधि जितेका छन् । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे हुनेछ । विश्व फुटबलका शीर्ष राष्ट्रमध्येका यी दुई टोली फ्रान्स र स्पेन बीचको यो भिडन्तलाई ‘फाइनल अघिको फाइनल’ भनिएको छ । लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर ।
फ्रान्स प्रतियोगिताकै सबैभन्दा खतरनाक आक्रमण गर्ने टोलीका रूपमा देखिएको छ । कप्तान किलियन एमबाप्पेको नेतृत्वमा ओस्मान डेम्बेले, माइकल ओलिसे र डिजिरे डुएले विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गर्दै आएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै प्रहार गर्ने टोलीमध्ये एक रहेको फ्रान्ससँग गोल गर्ने खेलाडीको विविधता पनि प्रशस्त छ । यता स्पेनले भने बल नियन्त्रणमा आधारित आफ्नो परम्परागत शैलीलाई यस विश्वकपमा अझ प्रभावकारी बनाएको छ ।