काठमाडौं ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नेतृत्व संकट गहिरिँदै गएको छ । 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसनले समर्थन नगर्ने घोषणा गरेको छ । विश्वकपमा निजी लगानी भित्र्याउने प्रस्ताव विवादमा परेपछि वेल्स इन्फान्टिनोको समर्थन फिर्ता लिने पहिलो सदस्य राष्ट्र बनेको हो । वेल्स फुटबल एसोसिएसनले सोमबार जारी गरेको विज्ञप्तिमा सन् २०२७ देखि २०३१ सम्मको कार्यकालका लागि इन्फान्टिनोको उम्मेदवारीलाई समर्थन नगर्ने स्पष्ट पारेको छ ।

यसैबीच, इङ्गल्यान्ड फुटबल एसोसिएसनले पनि फिफालाई पत्र पठाउँदै इन्फान्टिनोलाई समर्थन नगर्ने जानकारी गराएको छ। उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घले फिफा नेतृत्वबारे समीक्षा आवश्यक रहेको जनाएको छ भने एसियाली फुटबल महासङ्घले सङ्गठनमा थप पारदर्शिता अपनाउन आग्रह गरेको छ ।

सन् २०१६ देखि फिफाको नेतृत्व सम्हाल्दै आएका इन्फान्टिनो चौथो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । फिफाको आगामी चुनाव सन् २०२७ को मार्चमा मोरक्कोमा हुने तय भएको छ ।