एजेन्सी
सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.९ प्रतिशतले वृद्धि भएको छ । हालै सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस अवधिमा चीनको कुल वैदेशिक व्यापार २५.४७ ट्रिलियन युआन (करिब ३.७५ ट्रिलियन अमेरिकी डलर) पुगेको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ शेन्योङकाअनुसार आयात र निर्यातमा तिब्र वृद्धि हुनुका साथै व्यापारिक संरचनामा समेत थप सुधार र सुदृढीकरण भएको छ । तथ्याङ्क विवरणअनुसार समिक्षा अवधिमा चीनको निर्यात १३.४ प्रतिशतले बढेर १४.७३ ट्रिलियन युआन पुगेको छ ।
त्यसैगरी, आयाततर्फ २२.१ प्रतिशतको उच्च वृद्धि देखिएको छ, जसको कुल हिस्सा १०.७४ ट्रिलियन युआन कायम भएको छ । चिनियाँ अधिकारीहरूले यस वृद्धिलाई वैदेशिक व्यापारको क्षेत्रमा प्राप्त भएको सकारात्मक उपलब्धिको रूपमा व्याख्या गरेका छन् ।