काठमाडौं साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बंगलादेशसँग सामना गर्ने भएको छ ।

भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आइतबार भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनलको समीकरण पूरा भएको हो ।

अब सेमिफाइनलमा नेपालले बंगलादेशसँग र भारतले भूटानसँग खेल्ने भएका छन् । नेपाल समूह ‘ए’ को विजेता र बंगगलादेश समूह ‘बी’ को उपविजेता बनेको हो । समूह ‘ए’बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । समूह ‘बी’बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन् । सेमीफाइनलका खेलहरु यहि जेठ २० गते हुने भएका छन् ।

आठौं संस्करणको साफ महिला च्याम्पियनशिपको फाइनल खेल यहि जेठ २३ गते हुने भएको हो । भारतले सबै भन्दा बढी ५ पटक उपाधि जितेको छ । बंगलादेश भने पछिल्लो दुई संस्करणको विजेता हो । पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो ।

सन् २०२२ र २०२४ मा काठमाडौंमा भएको साफ महिला च्याम्पियनशिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो । नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन रहेको छ ।