काठमाडौं । इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ । 

ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही सर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनुभएको छ । इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती सर्तमध्ये मुख्य रुपमा अघि सारेको छ ।

इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ । इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्घद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनुभएको छ । उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने लगायत माग अघि सारेका छन् ।

हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । सामान्य अवस्थामा विश्वमा प्रवाह हुने झण्डै २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ । यसको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्ने गर्छ ।