एजेन्सी ।

इरान र ओमानबीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ । 

इरानी विदेशमन्त्री अब्बास अराघच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको छ । अराघच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग–अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ । उहाँका अनुसार यसअघि प्रयोग हुँदै आएका समुद्री मार्ग अहिले सञ्चालनयोग्य नरहेकाले नयाँ मार्ग पहिचान गर्न लागिएको हो ।

शुरुमा अस्थायी मार्ग तय गरेर पछि त्यसलाई स्थायी मार्गमा परिणत गर्ने तयारी भइरहेको छ । तर नयाँ मार्ग तय भए पनि हर्मुज जलमार्ग तत्काल खुल्ने निश्चित भने नभएको नरहेको इरानले जनाएको छ । हर्मुज खोल्ने वा नखोल्ने विषय अमेरिकाले गएको जुनमा भएको समझदारीपत्रका शर्तहरू पालना गरे–नगरेमा निर्भर हुने इरानको भनाइ छ ।

विश्व व्यापार तथा तेल र ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ । इरानले अमेरिकाले समझदारी उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ भने हर्मुजमाथिको नियन्त्रणलाई वार्ताको प्रमुख विषय बनाएको छ ।