काठमाडौं फुटबलको इतिहासमै पहिलो पटक ३ देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिदेखि शुरु हुँदैछ ।
विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई वटा खेल हुने भएको हो । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुने भएको छ। योसँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुने भएको हो । यस पटकको विश्वकप इतिहासमै सबै भन्दा ठूलो संस्करण हो । तीन वटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म संचालन हुने भएको छ । कूल १ सय ४ खेल हुने भएका हुन् ।
फिफाले प्रतियोगिताका लागि १ हजार २ सय ४८ खेलाडी छनोट भएको जनाएको छ। जसमध्ये ८ सय ९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् । ३ सय ५७ खेलाडी भने पहिले विश्वकप खेलिसकेका हुन् । यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन् ।
उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिने भएको हो । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ । मेक्सिकोमा बिहीबार पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुने भएको ।
बिहीबार राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिने भएको छ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ शहरमा खेलाइने भएको हो । कूल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् । फाइनल खेल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइने भएको हो । मेसी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको फिफाले जनाएको छ ।