काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार उक्त सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । 

२०८३ भदौसम्मको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । यस अवधिमा मुलुकको चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले वचतमा रहेको छ भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । यसले वाह्य क्षेत्रको समग्र अवस्थामा वचत कायम रहेको देखिएको छ भने चालु आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । वार्षिक विन्दुगत आधारमा नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८ सय ८४ रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । यस अवधिमा राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । सरकारी खर्च राजस्व परिचालनभन्दा १६ अर्ब ६३ करोड रुपैयाँ बढी रहेको छ । भदौसम्म विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायको वृद्धिदर १४.९ प्रतिशत रहेको छ ४८. समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ ।

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पती (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.१ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।