काठमाडौं ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण गर्न नेपाललाई अनुदान, सहुलियतपूर्ण ऋणसहित अन्तरराष्ट्रिय विशेष वित्तीय प्याकेज आवश्यक रहेको बताउनुभएको छ ।
अर्थमन्त्री वाग्लेले बुधवार संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन अन्तर्गतको छलफलमा जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।
जलवायुजन्य क्षति तथा हानीनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब दुई करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको छ ।
अर्थमन्त्री वाग्लेले सहयोग स्वागतयोग्य भए पनि जोखिममा रहेका मुलुकको आवश्यकताको तुलनामा उपलब्ध रकम निकै न्यून रहेको बताउनुभयो । अर्थमन्त्री वाग्लेले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।