काठमाडौं ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघलाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषद्ले निर्देशन दिएको उल्लेख गर्नुभयो ।

परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र कार्यसमितिको चैत १२ गतेको निर्णय अनुसार एन्फालाई निलम्बन गरिएको मन्त्री पोखरेलकको भनाइ छ । उहाँले परिषद्को सोही निर्देशनलाई तेस्रो पक्षले हस्तक्षेप गरेको भनी फिफाको निलम्बनमा परेको बतउनु भयो ।

उहाँले निलम्बनपछि नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन नभएको पनि सभालाई जानकारी गराउनु भयो । उहाँले मुलुकको सामुदायिक शिक्षामा सुधार गर्न समेत सरकार लागि परेको बताउनुभएको छ । उहाँले विद्यालय शिक्षामा रहेका समस्या समाधानको लागि सरोकारवालाहरुको सुझाव समेत समेटेर शिक्षा ऐन जारी गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।