काठमाडौं ।
सरकारी कर्मचारीको बजेटसँगै बढाइएको तलब तथा भत्ता साउनदेखि कार्यान्वयन गरिएको छ । मन्त्रिपरिषदकाो साउन ६ गतेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको हो । सरकारले गत जेठ १५ गते बजेटमार्फत कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने र थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो ।
अर्थ मन्त्रालयले सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको छ । सरकारले नयाँ बजेटसँगै निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको तलब तथा भत्ता बढाएको हो ।
सरकारी कर्मचारीले (निवृत्तभरण प्रयोजन) का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउने भएका छन् ।