काठमाडौं ।
दशैँमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले २३ असोजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले मंगलवार राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, यातायातसम्बद्ध मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी दशैँको यातायात व्यवस्थापनका लागि बुकिङ् खुलाउने निर्णय गरेको हो । विभागका महानिर्देशक राजीव पोखरेलले सोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गरिने बताउनुभयो । लामो तथा मध्यम दूरीका सवारीसाधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिटसमेत खुला गरिएको उहाँले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले राज्यले तोकेको भाडाभन्दा बढी रकम नलिने र यदी त्यस्तो पाइए सरकारले कारबाही गर्न सक्ने उहाँको भनाइ छ ।
लक्ष्मी बहुउद्देश्य प्रा.लि.का महाप्रवन्धक पंकज मल्लले बसपार्कमा थप सवारीसाधन सञ्चालन गर्दा बढी भाडा लिएको पाइएमा सम्बन्धित गाडी तथा व्यक्तिमाथि कारबाही गर्न ट्राफिक प्रहरी, मजदुर संगठन र सम्बन्धित निकायलाई समेत आग्रह गरिएको बताउनु भयो ।
यात्रु चाप अत्यधिक हुने मुख्य स्थानमा गठन गरिएका संयुक्त कमिटीले स्थानीय समस्या तत्काल पहिचान गरी समाधान गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।