काठमाडौं। अर्थ मन्त्रालयले देशैभर दर्ता भएका गाडीको संख्या ६२ लाख भन्दा माथि पुगेको जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याँक अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाडीको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको हो। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९ सय २१ वटा दर्ता भएका थिए । दर्ता भएका गाडीमध्ये ५० लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । त्यसैगरी फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ ।

त्यसमध्ये चालू आर्थिक वर्षको ८ महिनासम्म ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । जसमध्ये ५ हजार १८६ थान जडान भएको मन्त्रालयले जनाएको हो ।

गत फागुन मसान्तसम्म ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३ सय ४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको मन्त्रालयले जनाएको हो ।