काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाडा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताउनुभएको छ ।
मेलाको अन्तिम दिन आईतवार मेलाबारे जानकारी दिँदै उहाँले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गर्नुभयो । अध्यक्ष वैद्यकाअनुसार अघिल्लो संस्करणमा करिव १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक त्यो सङ्ख्या १ लाख ७५ हजार पुग्ने अनुमान गरिएको बताउनु भयो । ३ बजेसम्म १ लाख ६५ हजार बढीले अवलोकन गरिसकेको बताउनु भयो । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारी साधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए ।
गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरुप नै पर्याप्त प्रचार–प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । धेरै ग्राहकले विभिन्न स्टलहरूमा बुकिङ गरेका कारण विक्रीको यकिन तथ्याङ्क केही समयपछि मात्र स्पष्ट हुने उहाँको भनाइ छ ।
प्रदर्शनी स्थलको अभावका कारण यस पटक व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल) का सबै ब्राण्डहरूलाई समेट्न नसकिएको नाइमाले स्वीकार गरेको छ । यस समस्यालाई सम्बोधन गर्न नाइमाले आगामी दिनमा व्यावसायिक सवारी साधनका लागि छुट्टै ‘एक्स्पो’ आयोजना गर्नेबारे सर्भेक्षण गरी योजना बनाउने जानकारी दिएको छ ।