काठमाडौं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण प्रश्तुत गर्नुभएको छ ।
अर्थमन्त्री वाग्लेले बुधबार संघीय संसद बैठकमा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता तथा क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनुभएको हो ।
उहाँले प्रश्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ ।
मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसत भन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्युन रहने देखिएको छ ।
अर्थमन्त्री वाग्लेले संसदमा पेश गरेको सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ ।
आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम रहेको बताउनुभयो जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पु¥याएको छ । यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री वाग्लेले सांसद्मा आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षको फागुन सम्ममा संघीय राजश्व ३.२ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।