काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ ।
चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको बताउनु भयो ।
गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमार्फत सरकारले २७ वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढाएको र सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याएको उहाँले जानकारी दिनुभयो । सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत बाधाहरू हटाउँदै लगेको स्पष्ट पार्दै उहाँले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ मा संशोधन गरिएको जानकारी दिनुभयो । उक्त संशोधनमार्फत एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको र यसले डायस्पोराको लगानीलाई उच्च प्राथमिकता दिएको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौ पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’
डा. वाग्लेले प्रवासी नेपालीहरूलाई विशेषगरी सूचना प्रविधि (आईटी), पर्यटन, स्वच्छ ऊर्जा, व्यावसायिक कृषि र हरित पुनः औद्योगिकीकरण जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको बताउनु भयो । उहाँले रुग्ण उद्योगहरूलाई सार्वजनिक–निजी साझेदारी र ‘अपरेसनल लिज’ मार्फत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै यसमा प्रवासी नेपालीको पुँजी र अनुभव महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सरकारले ‘सफ्ट पावर’ का रूपमा डायस्पोराको लगानीलाई विशेष प्रश्रय दिएको भन्दै उहाँले स्वदेशी उत्पादन प्रवद्र्धन र आयात प्रतिस्थापनका क्षेत्रमा समेत सहभागी हुन एनआरएनएका सदस्यहरूलाई आग्रह गर्नुभयो । सम्मेलनको सफलताको शुभकामना दिँदै उहाँले भावनात्मक र आर्थिक दुवै हिसावले नेपालमा लगानी गर्नु एनआरएनएका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।