काठमाडौं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देख्न सकिने बताउँर्दै बजेट स्पष्ट रुपमा कुनै क्षेत्रमा फोकश हुन नसकेको बताउनु भयो ।
पुनले पपुलिजमको विशेषता सबैलाई कर्णप्रिय लाग्ने खालका कार्यक्रम प्रश्तुत गर्नुभएको बताउँदै ती कार्यान्वयनमा कत्तिको सम्भव हुन्छन् भन्नेबारे स्पष्टता नहुने बताउँदै सरकारले ल्याएको बजेट पनि त्यस्तै रहेको बताउनु भयो । उहाँले बजेट निर्माणमा सबै राष्ट्रिय दलहरूले उठाउँदै आएका विषयहरूलाई समेटिएको देखिए पनि सरकारको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोण र प्राथमिकता भने पर्याप्त रूपमा नदेखिएको बताउनु भयो ।
उहाँकाअनुसार धेरै कार्यक्रमहरू विगतका सरकारहरूले अघि सारेका आयोजना तथा नीतिहरूको निरन्तरताजस्तै देखिन्छन् ।
पूर्वअर्थमन्त्री पुनले मुख्य प्रश्न सरकारको प्राथमिकतासँग सम्बन्धित रहेको बताउनु भयो । उहाँकाअनुसार बजेट सुन्दा र हेर्दा सबै विषय समेटिएको जस्तो लागे पनि त्यसले अपेक्षित परिणाम दिने स्पष्ट रणनीति, प्राथमिकता र केन्द्रित दृष्टिकोण भने देखिँदैन ।