काठमाडौं । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व उठाउन असफल भएको छ ।

भद्रपुर भन्सारले आर्थिक वर्ष २०८२ र ८३ मा लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । २५ करोड तीन लाख २५ हजार राजस्व जुटाउने लक्ष्य रहेकोमा १८ करोड ६० लाख ९५ हजार ८ सय ४४ रुपैयाँ मात्र सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । भद्रपुर भन्सारले अघिल्लो आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको राजस्व उठाउन सकेको थिएन ।

आर्थिक वर्ष २०८१ र ८२ मा ३३ करोड १३ लाख ७३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा २० करोड ८६ लाख ६९ हजार ६ सय ३१ रुपैयाँ मात्र सङ्कलन भएको थियो ।

भद्रपुर नाकाबाट निर्यात नहुँदा राजस्व सङ्कलन कम भएको भन्सार कार्यालयले जनाएको छ । पूर्वी नाकामा निर्यात व्यापारको ठूलो हिस्सा मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ। त्यही कारण भद्रपुर भन्सारमा कम भएको हो ।