काठमाडौं मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷०८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बारबरको बजेट सार्वजनिक गरेको छ । 

मधेश प्रदेशसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रश्तुत गर्नुभएको हो । मधेशले चालु आर्थिक वर्षको लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेशले आगामी वर्षको लागि चालुतर्फ ३५ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ ६४ दशमलव ३६ प्रतिशत रकम विनियोजन गरेको छ । चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगत तर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री भट्टराईले बताउनुभयो । 

प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मधेश प्रदेशले आन्तरिक राजस्व ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको हो । मधेशले चालू आर्थिक वर्षमा कुल विनियोजित बजेटको ५९ दशमलब १५ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ ।