काठमाडौं ।

मुलुकको विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन लागिएको छ, त्यसको लागि ५८ अर्ब एक करोड रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत भएको छ ।

मुलुकमा ५८ अर्ब एक करोड ८५ लाख तीन सय पाँच रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि तीन अर्ब ९१ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । त्यसैगरी ऊर्जामूलक क्षेत्रअन्तर्गत चार वटा परियोजनाका लागि सात अर्ब १६ करोड रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा २३ अर्ब १८ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका लागि दुई सय २७ परियोजनामा १३ अर्ब ९९ करोड रुपैयाँ र सूचनाप्रविधिमूलक क्षेत्रमा सात सय २७ परियोजनाका लागिदुई अर्ब ८३ करोड रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ ।