काठमाडौं मुलुकमा जीवन बीमा गर्नेहरु बढ्दै गएका छन्, बीमा संकलित रकम बढेर एक खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बीमा शुल्क ३२ अर्ब ५३ करोड रुपैयाँ सङ्कलन भएको छ । कूल बीमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत फागुन मसान्तसम्म सक्रिय बीमालेखमध्ये जीवन बीमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८ सय ३२ र निर्जीवन बीमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ ।
चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८ सय ३० बीमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ । निर्जीवन बीमातर्फ ९४ हजार २ सय १५ बीमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड रुपैयाँबराबरको रकम भुक्तानी गरिएको छ ।
बीमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४ सय ३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । सर्वेक्षण अनुसार २०८१ साल फागुनसम्म करिब चार लाख १२ हजार ४ सय ५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् ।