काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले अर्थतन्त्र सुधारको लागि बजेटले सम्बोधन गर्न नसकेका विषयलाई समेटेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले बजेटले केही विषय सम्बोधन गरेपनि निजी क्षेत्रका बाँकी मागहरु मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने उहाँको भनाई छ । अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँले बताउनु भयो ।
विगतका मौद्रिक नीतिले व्यवसायीलाई राहत दिएको स्मरण गराउँदै उहाँले यसपटक पनि उत्पादन, लगानी र रोजगारी प्रवद्र्धन गर्ने नीति आउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा नै रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । रोजगार सिर्जना गर्न नसकेको आरोप राज्य र निजी क्षेत्र दुवैले खेपिरहेको उहाँको भनाई छ । यद्यपि नेपालमा कुल रोजगारीको करिव ८६ प्रतिशत योगदान निजी क्षेत्रले दिएको उहाँको दाबी छ । राज्यले उद्योग र उत्पादनमूलक क्षेत्रमा आवश्यक सहयोग गर्न नसकेको कारण नेपालमा आयात बढिरहेको बताउनु भयो । नेपालले हाल करिव ७० प्रतिशत वस्तु आयात गरिरहेको उहाँको भनाई छ । उहाँले ३० प्रतिशत मात्रै स्वदेशमै उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले अब ७० प्रतिशत वस्तु नेपालमा नै उत्पादन हुनेगरी राज्यले सोच्नुपर्ने बताउनु भयो । पेट्रोलियम बाहेकका धेरै वस्तु देशभित्रै उत्पादन गर्न सकिने सम्भावना रहेको उहाँको भनाई छ ।
उहाँले उद्योग विस्तार र स्वदेशी उत्पादन वृद्धि गर्न सकेमा अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुने दाबी गर्नुभयो । उहाँले व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिन जग्गा धितो राख्नुपर्ने बाध्यता रहेकाले निजी क्षेत्र जग्गामै लगानी गर्न बाध्य भएको बताउनु भयो । निजी क्षेत्रलाई सिर्जनशील र नवप्रवर्तनमुखी बन्नुपर्ने चुनौती रहेको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले त्यसका लागि स्थिर नीति, स्पष्ट नियत र लगानीमैत्री वातावरण आवश्यक पर्ने बताउनु भयो । उहाँले राज्यको नीतिगत अस्थिरता र बारम्बार हुने नीति परिवर्तनले निजी क्षेत्र समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले हाल कर्जा प्रवाह बढाउनेगरी मौद्रिक निती ल्याउनुपर्नेमा जोड दिनुभयो ।