काठमाडौं यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख २४ गतेसम्म एक करोड १६ लाख ३५ हजार राजस्व संकलन गरेको छ ।
आर्थिक वर्षमा दुई करोड राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम संकलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभएको हो । संकलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख ७ हजार ९ सय २२, चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर बापत चार लाख ३५ हजार ५ सय २६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९ सय ६ र प्रशासनिक दण्ड जरिवानामार्फत एक हजार ५ सय ७५ रहेको छ ।
कार्यालयमा आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १ सय ९८ वटा सवारीसाधन दर्ता भएका हुन् ।
सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्र सम्बन्धी मोटरसाइकल–स्कुटर, मोपेड वर्ग (ए) अन्तर्गत १ सय ८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३ सय ९४ गरी जम्मा ६ सय २० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ ।