काठमाडौं ।

राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो । संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा लागू सीमा बढाइएको छ । 

संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकलाई तोकिएको प्रक्रियाा पूरा गरी बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यो सुविधा १५ हजार डलरसम्मको थियो ।

अब दूरसञ्चारसम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरुले विदेशी सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तोकिएको कागजात लिई भाडाबापत वार्षिक अमेरिकी डलर ५ लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले गर्न सक्नेछन् । यसअघि १ लाख डलरसम्मको सीमा थियो ।

त्यस्तै अब नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा आवश्यक कागजातहरु लिई प्रतिपटक अमेरिकी डलर ३० हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ ।

प्रतिपटक अमेरिकी डलर ३० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीका लागि नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रतिपटक अमेरिकी डलर ८ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीका लागिसमेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । यसअघि क्रमशः १५ हजार डलर र ८ हजार डलरको सीमा थियो ।