काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रश्तुत गर्नुभएको छ ।
मंगलवारको सभाको बैठकमा मन्त्री वाग्लेले उक्त विधेयक सदनसमक्ष पेश गर्नुभएको हो । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति दिनुभएको थियो । विधेयकका उद्देश्यबारे प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार कानूनी दोहोरोपना अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक तर्जुमा गरिएको हो ।
सोही विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०८२ लाई समयानुकूल संशोधन गर्ने लक्ष्य राखिएको छ ।