काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा दुई खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, सोही अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु वर्षको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दावी गर्नुभएको छ । कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनामा ९ प्रतिशत बढी अर्थात १७ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको बताउनुभयो । कार्यालयले गत वर्षको ११ महिनामा भने दुई खर्ब तीन अर्ब ८१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।