काठमाडौं
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १ सय ५ अंकले घटेको शेयर बजार सोमबार ८३ अंकले बढेको छ ।शेयर बजार परिसूचक नेप्से सोमबार ८३ दशमलव ३३ अंकले बढेर २ हजार ७ सय ६० दशमलव ०२ विन्दुमा पुगेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएपछि बजारमा सकारात्मक प्रभाव परेको छ । अर्थमन्त्री वाग्लले सोमबार स्टक ब्रोकर एशोसिएसन लगायतसँग शेयर बजारको बारेमा छलफल गर्नुभएको थियो । सबै समूहको सूचक बढेकोमा फाइनान्स र जलविद्युत् समूहको सूचक ४ प्रतिशत भन्दा बढीले उकालो लागेको छ । त्यस्तै, बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी समूहको उपसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको हो । २ सय ६४ वटा कम्पनीको शेयर बढेकोमा ३ वटाको घटेको छ । त्यस्तै, सृजनशील लघुवित्तको शेयर भने घटबढ भएको छैन । उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, नेपाल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको हो । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी बैंकको डिबेन्चर २०८८ सबै भन्दा बढी ३ दशमलव १० प्रतिशतले घटेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार १२ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार ३ सय ४५ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर १० अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको हो ।