काठमाण्डौ ।
काठमाण्डौ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरुद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने सरकारले जनाएको छ ।
बजारमा कृत्रिम अभाव र कालोबजारी गर्न सक्ने आशङ्कामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप १० टोली परिचालन गर्दैछ । खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप १० टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको हो ।
यसअघि नियमित रूपमा बजार अनुगमनमा ६ टोली परिचालित भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयले बताएको छ । काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन गरिएका्े छ । बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्यवृद्धि गर्न नपाइने भएको छ । बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिम बढेकाले सरकारले अनुगमन तीव्र बनाएको हो ।