काठमाडौ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनका कारण जलेका स्रेस्ता सम्बन्धमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले भविष्यमा यस्ता घटनाका कारण सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनेतर्फ सरकार अगाडि बढेको उहाँले बताउनुभएको छ ।
बैठकमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी स्रेस्ता जलेर नष्ट भएको उहाँले बताउनुभएको छ । नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्यांक प्रयोग गरेर क्षतिको यथासम्भव पुनःस्थापना गर्नुपर्नेमा उहाले जोड दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयले झन्डै डेढ खर्बको स्रेस्ता जलेर लेखा परीक्षण गर्न नसकेको जानकारी गराएको उल्लेख गर्दै उहाँले हाल प्रचलित कानुनले यस्ता घटनालाई ‘फोर्स मेजर’ अर्थात् काबुबाहिरको परिस्थिति वा दुर्घटनाको आयामभित्र समेट्ने बताउनुभयो ।