काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको करिब ३८ प्रतिशत रकम खर्च हुन सकेको छैन ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँ बजेटमध्ये २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार रुपैयाँ मात्र खर्च भएको हो ।
कार्यालयका अनुसार प्रदेश सरकारले समग्रमा ६२ दशमलब ३३ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक बजेट अन्तर्गत १२ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ खर्च हुन नसकेको हो । चालूतर्फ ६८ दशमलब २२ प्रतिशत र पुँजीगततर्फ ५८ दशमलब ३३ प्रतिशत बजेट कार्यान्वयन भएको छ । प्रदेश सरकारको हालसम्मकै कमजोर खर्चमध्ये यो एक हो । सरकारले आर्थिक वर्षको अन्तिम महिना असारमा ठुलो रकम खर्च गरेको देखिएको छ । असार महिनामा मात्रै ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ खर्च भएको हो, जुन कुल वार्षिक खर्चको २७.१३ प्रतिशत हो ।
पुँजीगत खर्चतर्फ मात्र हेर्दा कुल खर्चको ३०.३३ प्रतिशत असारमै गरिएको तथ्यांकले देखाउँछ । जेठ मसान्तसम्म प्रदेश सरकारको कुल खर्च ११ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ थियो । त्यतिबेलासम्म पुँजीगत खर्च ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ पुगेको थियो । पुँजीगततर्फ सरकारले १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
चालूतर्फ १३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ बजेटमध्ये ९ अर्ब २७ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।