काठमाडौं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले संचारकर्मीसँग कुरा गर्दै यस्तो माग गर्नुभएको हो । पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा समेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उहाँको भनाइ छ । उहाँले डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमा समेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गर्नुभयो ।
वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उहाँको जिकिर छ । उहाँले पेट्रोलियम पदार्थमा मूल्यमा गिरावट आउँदा सरकारले सोही अनुसार मूल्य समायोजन गर्दापनि व्यवसायीलाई स्वीकार्य भएको पनि बताउनु भयो ।
कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गर्नुभयो । उहाँले सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी र पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झनै बढी खपत गरेको उहाँको भनाइ छ । उहाँले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने उहाँको चेतावनी छ ।