काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको ऋण निष्कासन गर्ने भएको छ । 


त्यसको लागि एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ अन्तरगत आज बोलकबोल गरिँदैछ । ऋणपत्रको बोलकबोल अहिले ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । 


एउटै संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी गरिने भएको छ । 


न्यूनतम पाँच करोड रूपैयाँ र त्यसपछि र पाँच करोड रुपैयाँकै गुणकमा कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ । स्वीकृत हुने ब्याजदर सबैभन्दा कम ब्याजदरबाट क्रमशः निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।