अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको दावी गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताउनुभयो । पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उहाँले त्यसलाई ‘अन्तिम छटपटी’ को बताउनुभएको छ । मन्त्री वाग्लेले राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएको समेत जिकिर गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले मुलुकलाई आगामी बजेट उद्यममैत्री रहेको समेत बताउनुभएको छ । सुशासनलाई केवल नारामा मात्र सीमित नराखी यसलाई एउटा संस्थागत संस्कृतिका रूपमा विकास गरिने प्रतिबद्धता समेत उहाँले बताउनुभयो ।